३४ औं स्थापना दिवसको अवसरमा शाखाको शुभकामना सन्देश

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले आज ३४ औं स्थापना दिवस मनाउँदै छ । हाम्रा अग्रजहरुले महासंघ स्थापना गरेको ३३ वर्ष पूरा भएको खुशीको दिनमा इतिहासले सुम्पेको दायित्व पूरा गर्न थप उत्साह मिलेको महसुस हामीले गरेका छौं । यस सुखद अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र श्रमजीवि पत्रकारहरुको पक्षमा आवाज उठाउँदै आएको महासंघ जिल्ला शाखा सबै लोकतान्त्रिक आन्दोलनको एउटा अंगको रुपमा उभिएको जानकारी गराउन पाउँदा हामीलाई खुशी लागेको छ । लोकतान्त्रिक संस्कार निर्माण गर्दै मानव अधिकारको रक्षाका लागि महासंघ जिल्ला शाखा निरन्तर क्रियाशील रहेको सबै लाई जानकारी नै छ । स्थापनाकालदेखिनै अनेक आरोह–अवरोह झेल्दै आएको महासंघ जिल्ला शाखाले तीन दशक पारगर्दा निकै ठूलो फड्को मारेको महसुस हामीले गरेका छौं ।

जिल्लाका सीमित पत्रकारहरुको उपस्थितिमा २०४९ मंसिर २५ मा तदर्थ समिति गठन गरेर सुरु भएको महासंघको यात्रा कालान्तरसम्म चलिरहने द्दृढ विश्वास लिएका छौं । विष्णुप्रसाद न्यौपाने संयोजक तथा तारानाथ दाहाल तथा सूर्यप्रसाद न्यौपाने सदस्य रहेको तीन सदस्यीय तदर्थ समिति गठन गरेर महासंघ स्थापना भएकोमा अहिले बाह्रौ अधिवेशनबाट निर्वाचित नेतृत्वले कार्यभार सम्हालिरहेको छ । महासंघ शाखाको मुख्य उद्देश्य पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रताको वकालत, संरक्षण तथा प्रवद्र्धनै मुख्य हो । विगतमा निर्वाह गरेको भूमिकाबाट आर्जित विश्वासका कारण जिल्लामा पत्रकार महासंघ आमनागरिकको आवाज बुलन्ध गर्ने एउटा भरोसायोग्य संस्थाको रुपमा स्थापना भएको छ ।

विगतमा महासंघको नेतृत्वदायी भूमिकामा राजनीतिक तथा सामाजिक क्षेत्रमा उत्पन्न कयौंन समस्या हल गरेको अनुभव हामीसँग रहेको छ । दशबर्से द्धन्द्धकाल, २०६२÷०६३ को आन्दोलन, भूकम्प, बाढीपहिरो तथा जिल्लामा भएका विभिन्न घटनाहरुसँग निकट रहेर सूचनाको खेती गर्दै लोकतन्त्र र जनअधिकारको पक्षमा निर्वाह गरेको भूमिकालाई एक पटक स्मरण गर्ने हो भने हामीलाई गर्वको अनुभूति हुनेगर्छ । हामीले महासंघको इतिहासमा दशबर्से द्धन्द्धकालमा दुई जना सहकर्मी गुमायौं । दुई बन्दुकको चेपुवामा परेर पनि हामी आफ्नो कर्तव्य पालनाबाट कहिल्यै पछि हटेनौं । तीन सदस्यीय तदर्थ समितिबाट सुरु भएको यात्राका क्रममा अहिले १०२ जना सदस्य महासंघमा आवद्ध हुनुहुन्छ । झण्डै साढे तीन दशकअघि महासंघ स्थापनाकालमा अभ्यास गरेको पत्रकारिता आज त्यो छैन । नयाँ÷नयाँ सोचाईको विकास, प्रविधि, सन्दर्भ र नागरिक चेतनाले पत्रकारिताको परिभाषालाई नै चुनौति दिएको अवस्था बन्दै गएको छ । सूचना पाउन हिजोभन्दा आज बढी सहज छ । तर नागरिकले चाहेको नयाँपन, विश्वसनीय र सन्तुलित समाचार प्रवाहमा कठिनाई थपिँदै गएको छ ।

सूचनाको उपलब्धता र पहुँच सहज भएपनि सामाजिक सञ्जालको प्रयोग र सञ्चार क्षेत्रमा प्रवेश गरेको आधुनिक प्रविधि तथा विषयवस्तुको विविधताले समाचारको विश्वसनीयता आजको सवैभन्दा ठूलो चुनौति बनेको छ । सीमित स्रोतसाधन, पत्रकारको क्षमता एवं अडियन्सले समाचार र सूचनालाई फरक ढंगले नबुझ्ने प्रवृत्तिको विकास हुँदै जानुले पत्रकारितामा चुनौतिको चाङ थपिँदै गएको छ । यी सबै समस्यालाई चिर्दै पत्रकारहरुलाई गोलबद्ध बनाएर पत्रकारिता पेशालाई थप मर्यादित र विश्वसनीय बनाउँदै अघि बढ्न महासंघ प्रतिवद्ध रहेको छ । अन्त्यमा स्थापना दिवसको शुभ अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका पक्षधरहरु, नागरिक आन्दोलनका अगुवा तथा जनप्रतिनिधिसहित आमनागरिकहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

                                                     

                                                        ध्रुव दङ्गाल (अध्यक्ष)