हाम्रो बारेमा

नेपाल पत्रकार महासंघ श्रमजीवी नेपाली पत्रकारहरुको छाता संगठन हो । २०१२ सालमा पत्रकार संघको रुपमा यसको स्थापना भएको थियो । त्यसको अविच्छिन्न उत्तराधिकारवाला संस्थाको रुपमा नेपाल पत्रकार महासंघ हालसम्म अनवरत क्रियाशील रहँदै आएको छ ।

नेपाल पत्रकार महासंघको विधानबमोजिम नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको स्थापना २०४९ मंसिर २५ गते भएको हो । महासंघको केन्द्रीय उद्देश्य पूरा गर्दै जिल्लामा छरिएर रहेका पत्रकाहरुलाई संगठित गर्ने, उनीहरुको पेशागत हकहितमा काम गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील रहने, सूचनाको हक कार्यान्वयनमा सघाउने, सञ्चारकर्मीहरुको पेशागत क्षमता अभिवृद्धि गर्ने, पत्रकारको श्रमका विषयमा आवाज उठाउने र लोकतन्त्रलाई बलियो बनाउने गरी सूचना तथा सञ्चारको क्षेत्रमा क्रियाशील रहनेलगायत उद्देश्य राखेर शाखाको स्थापना भएको हो ।


तत्कालीन अवस्थामा १६ जना पत्रकारको उपस्थितिमा विष्णु न्यौपाने संयोजक तथा तारानाथ दाहाल र सूर्यप्रसाद न्यौपाने सदस्य रहेको तीन सदस्यीय तदर्थ समिति बनाएर शाखाको स्थापना भएको थियो । २०४९ पुस १२ गते शाखाको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले रामकुमार केसीको सभापतित्वमा कार्यसमिति चयन गरेको थियो । स्थापनायता १२ पटक जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् ।


स्थापनादेखि २०५८ को अन्त्यसम्म शाखा झोलामा सञ्चालित थियो । २०५८ फागुन २५ गते सम्पन्न पाँचाँै जिल्ला अधिवेशनबाट ऋषिराम पौड्यालको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएपछि शाखा भाडाको कार्यालयबाट सञ्चालनमा आयो । त्यसपछि मात्र शाखा क्रमशः संस्थागत विकासतर्फ अघि बढ्न थाल्यो ।


तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा शाखाले २०६२ असार २८ गते साविक चौतारा गाविस वडा नंं. ५ (हाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५) मा ८ आना ७ पैसा क्षेत्रफल रहेको जग्गा खरिद ग¥यो । त्यसपछि शाखाले उक्त जग्गामा व्यवस्थित कार्यालय भवन बनाउन जनस्तरबाट आर्थिक सहयोग संकलन गर्न थाल्यो । २०६४ फागुनमा शाखाको सभाहल, कार्यकक्षसहितको तीन तले ८ कोठे कार्यालय भवन निर्माण सम्पन्न भयो । उक्त भवन निर्माणमा जनस्तरबाट संकलित ४० लाख रुपैयाँ खर्च भएको थियो । २०६४ फागुन ८ गते नवनिर्मित कार्यालय भवनको पुनस्र्थापित व्यवस्थापिका संसदका सभामुख स्वर्गीय सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नु भएको थियो ।


शाखाले संस्थागत विकासमा फड्को मार्दै अघि बढिरहेका बेला २०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पले शाखाको कार्यालय भवनमा नराम्ररी क्षति पु¥यायो । जनस्तरबाट पुनः सहयोग जुटाएर क्षतिग्रस्त भवन रेट्रोफिटिङ गरेर पुनः सञ्चालनमा ल्याइयो । त्यसयता शाखा यही भवनबाट सञ्चालित छ । सुरुको निर्माण, रेट्रोफिटिङ, मर्मत सम्भारमा शाखा भवनमा हालसम्म १ करोड रुपैयाँभन्दा बढी रकम लगानी भइसकेको छ ।


हाल शाखामा १ सय ३ साधारण सदस्य आवद्ध छन् । शाखाले साधारण सदस्यको पेशागत सुरक्षामा र वृत्ति विकासमा सघाउने, क्षमता विकासका तालिमहरुका कार्यक्रम सञ्चालन गर्ने, शाखाको संस्थागत विकास गर्ने, पत्रकारहरुको श्रमका विषय उठाउने, स्थानीय सञ्चार माध्यमको दीगो विकासका लागि स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गर्ने, पत्रकारहरुको जीविकोपार्जनमा सघाउन लेखनवृत्ति प्रदान गर्ने, बिरामी पत्रकारको उपचारमा सघाउन आर्थिक सहायता वितरण गर्ने, शोकमा परेका पत्रकारहरुलाई किरिया खर्च उपलब्ध गराउने लगायत काम गर्दै आएको छ । स्थानीय सरकार, विभिन्न संघसंस्था र व्यक्तिगत सहयोग जुटाएर शाखाले यस्ता गतिविधि सञ्चालन गर्दै आएको हो ।