प्रेस विज्ञप्ति
२०८३ असोज १६ गते
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रमेश राउतले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका पूर्वकार्यसमिति सदस्य एवम् सञ्चारकर्मी दिनेश दुलाललाई सार्वजनिक रुपमा अपमान हुने गरी गोलिगलौज गरेको घटनाप्रति महासंघ जिल्ला शाखाको गम्भिर ध्यानाकर्षण भएको छ ।
यही असोज १३ गते बाह्रविसेको खोर्सानीवारी बजारमा भएको भेटमा दुई वर्षअघि दुलाल प्रकाशक÷सम्पादक रहेको सिन्धुज्वाला साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर वडाध्यक्ष राउतले सार्वजनिक रुपमा अपशब्द प्रयोग गरी गरेको गालिगलौज असमान्य खालको छ । उक्त भेटमा हात मिलाउन पत्रकार दुलालले हात दिँदा ‘मसँग हात मिलाउने तेरो हैसियत के ?’ भन्दै व्यक्तिगत लाञ्छनासहित सिंगो पत्रकारिता क्षेत्रलाई नै जोडेर बदनाम गराउने गरी वडाध्यक्ष राउतले दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित, अराजक र आपत्तिजनक छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ भएर दुई वर्षअघि ट्रान्समिसनलाइन बिस्तार भइरहेका बेला स्थानीयले वडाध्यक्षविरुद्ध नै आन्दोलन गरेका थिए । सोही विषयमा समाचार बनाएकोमा अहिले आएर आक्रोश पोख्दै वडाध्यक्ष राउतले तथानाम गाली गरेको पीडित सञ्चारकर्मी दुलालले बताएका छन् ।
समाचारका विषयमा चित्त नबुझे खण्डन छपाउने, त्यसमा पनि चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था स्पष्ट छ । स्थानीय तहमा कानुन कार्यान्वयन गर्ने वडाध्यक्ष जस्तो जिम्मेवार र सम्मानित पदमा रहेर घटनाकै बेला कानुनी प्रक्रिया अबलम्बन नगरी दुई वर्षपछि प्रकाशित समाचारलाई लिएर एउटा सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्नुले कानुनी राज्यको धज्जी उडाएको शाखाको ठहर छ ।
अतः जनप्रतिनिधिको जिम्मेवारी बोध गरी पीडित पत्रकार दुलालसँग क्षमायाचना माग्दै आगामी दिनमा यस्ता क्रियाकलाप नदोहो¥याउन जिल्ला शाखा वडाध्यक्ष राउतसँग हार्दिक आग्रह गर्दछ ।
……………………
ध्रुव दङ्गाल
(अध्यक्ष)