शाखाले मनायो ३४ औँ स्थापना दिवस : १९ जनाले गरे रक्तदान, १७ ले सुगर र ८० भन्दाबढीले प्रेसर जँचाए

चौतारा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको ३४ औँ स्थापना दिवस विबिध कार्यक्रम गरी मनाइएको छ ।

स्थापनाको ३३ बसन्त पार गरी ३४ औँ वर्ष प्रवेश गरेको अवसरमा शाखाले प्रभातफेरि, खुला रक्तदान, सदस्य परिचयपत्र वितरण , वेबसाइट शुभारम्भ र शुभकामना आदनप्रदान लगायत रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

सदरमुकाम चौताराको टुडिँखेलचोकबाट सुरु भएको प्रभातफेरि शाखाको कार्यालयमा पुगेर विबिध कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए ।

नेपाल व्लोदान एसोसियसन सिन्धुपाल्चोकको संयोजनमा भएको रक्तदानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी र स्थानीयले सहभागिता जनाएका थिए । स्वास्थ्य जाँचतर्फ १७ जनाले सुगर जाँच गराएका थिए भने ८० भन्दाबढीले प्रेसर जँचाएको स्वास्थ्य टोलीले जनाएको छ ।

जिल्ला शाखाको www.fnjsindhupalchok.org नामक वेभसाइटको शुभारम्भ गरेर कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले स्थापना दिवसको उद्घाटन गरेका थिए । सो क्रममा शाखाका सदस्य पत्रकारहरुलाई परिचयपत्रसमेत वितरण गरिएको थियो ।

प्रमुख अतिथि नागर प्रमुख सापकोटाले गैरपत्रकारहरुले फिँजाएको अफवाहरुलाई क्रियाशील सञ्चारकर्मीहरुले चिरफार गर्नुपर्नेमा जोड दिँदै यसको अगुवाई जिल्ला शाखाले गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममका विशेष अतिथि नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका उपाध्यक्ष उमीद बागचन्दले पत्रकारितामा नयाँ नयाँ चुनौती थपिइरहेको उल्लेख गरे ।

चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले सत्य ,तथ्य र बिस्वसनीय समाचार प्रकाशन तथा प्रशारण गरी सबैको मन जित्नको लागि आग्रह गरिन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले लोकतन्त्रको संस्थागत विकास र प्रेस स्वतन्त्रताको प्रवर्धन पत्रकारितामार्फत मात्रै सम्भव हुने उल्लेख गरे ।

शाखाका पूर्वसदस्य एवम् हाल अमेरिकास्थित ब्रानर्फोड सिटीका बोर्ड अफ एजुकेशनका बोर्ड डारेक्टर रामचन्द्र श्रेष्ठले पत्रकारले दलीय झण्डा नत्यागेसम्म पत्रकारिता जिम्मेवार, मर्यादित र निष्पक्ष हुन नक्ने धारणा राखे ।

शाखाका पूर्वकोषाध्यक्ष सोम सापकोटाले पत्रकारितालाई मर्यादित र जवाफदेही बनाउन महासंघ शाखाको भुमिका बढाउन आग्रह गरे ।

मानव अधिकारकर्मी नातीवावु धितालले विगतमा भएको विभिन्न परिवर्तनका आन्दोलनहरुमा पत्रकार महासंघले खेलेको भूमिका स्मरण गर्दै आफ्नो भूमिका नबिर्सन आग्रह गरे ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले पत्रकारितामार्फत सिन्धुपाल्चोकलाई समृद्ध बनाउन भूमिका खेल्न सञ्चारकर्मीहरुलाई अनुरोध गरे ।

प्रमुख राजनीतिक दलका नेताहरुले समेत शुभकामना प्रदान गरेका थिए । नेकपा एमालेका प्रदेश सदस्य इन्द्र नेपाल, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला नेता गोविन्द पराजुली, रास्वपाकी शान्ति थिङले आमसञ्चारमाध्यमलाई विश्वसनीय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनिहरुले परिवर्तनको पहिलो श्रेय नेपाली पत्रकारीता जगतलाई जानेसमेत टिप्पणी गरेका थिए ।

तत्कालीन तदर्थ समितिका संयोजक विष्णुप्रसाद न्यौपाने, शाखाका सल्लाहकार एवम् पूर्वसभापति ऋषिराम पौड्यालले शाखाको स्थापनालेखि हालसम्मको ३४ वर्षे यात्रामा भोग्नु परेको शाखा र सञ्चारकर्मीहरुले भोग्नु परेको आरोह अवरोहको चर्चा गरेका थिए ।

‘समाजको पहरेदार, म जिम्मेवार पत्रकार’ भन्ने मूलनारासहित शाखाले स्थापना दिवस मनाएको हो । २०४९ मंसिर २५ गते विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा तारानाथ दाहाल र सूर्यप्रसाद न्यौपाने सदस्य रहेको तदर्थ समिति गठन गरेर शाखाको औपचारिक स्थापना भएको थियो । स्थापनाको ३३ वर्षपछि शाखाले पहिलो पटक स्थापना दिवस मनाएको हो ।