प्रेस विज्ञप्ति

२०८२ माघ १६ गते

पछिल्लो समय सिन्धुपाल्चोकमा सञ्चारकर्मी र सञ्चारमाध्यमबाट प्रकाशित र प्रसारित विषयहरुका सम्बन्धमा सार्वजनिक रुपमा प्रश्नहरु उठेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेको आरोप, विभिन्न जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक व्यक्तित्वमाथि लाग्ने गरेको अनियमिततालगायतका सवालहरुलाई समाचारको रुपमा सञ्चारमाध्यम र सञ्चारकर्मीले प्रकाशन र प्रसारण गर्दा पत्रकार आचारसंहिता, विद्यमान कानुन र व्यक्तिको गोपनीयता र स्वतन्त्रतामा ख्याल नगरिएको गुनासो बढ्दै गएको छ । जनस्तरबाट यस्ता गुनासाहरु पटक–पटक आइरहनु भनेको पत्रकारले आफ्नो पेशाको मूल मर्म र भावनालाई बेवास्ता गरेको ठहर्नेछ । यसले पत्रकार, पत्रकारिता र सञ्चारमाध्यमप्रतिको विश्वास गुम्ने निश्चित छ ।

त्यसमा पनि मुलुक निर्वाचनमा होमिएकाबेला हाम्रा समाचारहरु अझ बढी सन्तुलित, जिम्मेवार, पारदर्शी र विश्वसनीय हुनु जरुरी छ । पत्रकार होस् वा सर्वसधारण किन नहोस्, राज्यले सूचनाको हकको सुनिश्चित गरेको छ । कुनै पनि सार्वजिनक व्यक्तिको गोपनीयताको संरक्षण कुन तहसम्म गर्ने त्यो पनि सञ्चारमाध्यमले ख्याल गर्नुपर्छ । कुनै पनि घटनामा संलग्न पीडितहरुको नाम, ठेगाना लेख्ने/नलेख्ने, भिज्युअलमा अनुहार देखाउने/नदेखाउने, घटनाहरुलाई कसरी प्रस्तुत गर्ने, पछि हुन सक्ने घटनालाई आगाडी नै सार्वजनिक गर्ने कि नगर्ने ? जस्ता कयौंन विषय विद्यमान कानुन र पत्रकार आचारसंहितामा समेटिएको छ । त्यसको पालना सवैले गर्नुपर्छ । 

उल्लेखित पृठभूमिमा पछिल्ला दिनहरु जिल्लासँग सम्बन्धित विषयमा केन्द्रित रहेर सार्वजनिक भएका कतिपय समाचारको ‘कन्टेन्ट’ र प्रस्तुतिप्रति जनस्तरबाट गुनासाहरु आइरहेको छ । जनस्तरबाट आएको गुनासो न्युन गराउन र आचारसंहिताको पालना गराउने सम्बन्धमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघ जिल्ला शाखा सधैं विश्वसनीय, उत्तरदायी, स्वच्छ, जवाफदेही  र मर्यादित पत्रकारिता पेशामा रहेका सञ्चारकर्मी र सञ्चारमाध्यमको पक्षमा रहेको छ ।

 तर पत्रकारिता पेसाको आवरणमा धम्क्याउने, गलत क्रियाकलाप गर्ने, पत्रकार आचारसंहिता बिपरितका गतिबिधि गर्ने, पत्रकारिता पेसालाई बदनाम गर्ने गरि ब्यक्तिगत स्वार्थ केन्द्रीत अनैतिक गतिविधि गर्ने प्रवृत्ति र क्रियाकलापहरु हामी कहिल्यै स्विकार्दैनौं । त्यसैले पत्रकार र पत्रकारिताको बदनाम हुनेगरी अराजक र आपत्तिजनक गतिविधि नगर्न/नगराउन जिल्लाका सबै सञ्चारकर्मी, सञ्चारमाध्यमहरुलाइ महासंघ आग्रह गर्दछ । सबै पेशा र ब्यवसायलाई स्वच्छ र मर्यादित बनाउनु हामी सबैको जिम्मेवारी हो ।

समाजमा आफूलाई पत्रकारको रुपमा प्रस्तुत गरिसकेपछि पत्रकारिताकै सिद्धान्तअनुसार चल्नु पर्छ । पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त, स्थापित सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको कसीमा रहेर आफूलाई जिम्मेवार ढंगले प्रस्तुत गर्नु सञ्चारकर्मीहरुको कर्तव्य र दायित्व हो । पत्रकारिताको विश्वव्यापी सिद्धान्त नमान्ने र आचारसंहिता पनि पालना नगर्ने हो भने जो कोही पत्रकार बन्न सक्दैन । त्यस्तो व्यक्ति भिडको प्रतिनिधि मात्र हुन्छ । पत्रकारले प्रस्तुत गर्ने समाचारका अन्तरबस्तु कहिल्यै पनि एकतर्फी हुँदैन र हुनु हुँदैन । समाचार र कन्टेन्टका पक्ष, विपक्षलाई पत्रकारले सँगसँगै प्रस्तुत गर्नु नै असल पत्रकारिता हो ।

सामाजिक सञ्जालमार्फत भ्यूज, फलोअर्स र लाइक बढाउने नाममा र आफूलाई अलग्गै पत्रकार दाबी गर्ने हुटहुटीले सामाजिक द्वन्द्व मात्र बढाउँछ । सामाजिक सद्भावमा खलल पुर्याउँछ । द्वन्द्व बढाउने नभइ त्यसको सामाधान दिनु नै पत्रकार र पत्रकारिताको धर्म हो । सत्य, तथ्य र निष्पक्षताको कडीमा रहेर सन्तुलन पस्कनु नै पत्रकारिताको सुन्दरता हो ।  यही सुन्दरता मनन् गरिदिनु हुन महासंघ शाखा सबै सञ्चारकर्मीलाई जोडदार आग्रह गर्दछ । एउटा पेशामा लागिसकेपछि त्यसको सम्मान गर्नु र मर्यादा कायम राख्नु सबै पेशाकर्मीको धर्म हुन आउँछ । अतह: पत्रकारिता पेशालाई अनुशासित, मर्यादित, जिम्मेवार र जवादेही बनाउने भूमिका निर्वाहको लागि महासंघ शाखामा आवद्ध सबै साधरण सदस्य र सञ्चारकर्मीहरुलाई हार्दिक अपिल गर्दछ ।

ध्रुव दंगाल, अध्यक्ष

टीका सुवेदी, सचिव