पत्रकारलाई सामुहिक गिरफ्तारी गर्न माग गर्दै शाखाको प्रदर्शन
९ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सिन्धुपाल्चाेक शाखाले भेला तथा प्रदर्शन गरेको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको सर्कुलरअनुसार देशव्यापी आन्दोलनअन्तर्गत यहाँका पत्रकाहरुले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसिहत भेला गरेका हुन् ।
भेला एवम् प्रदर्शनमा उनीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारसँग माग गरेका थिए । पत्रकारलाई सामुहिक गिरफ्तार गर भन्ने नारा लेखिएकाे ब्यानर बाेकेर उनीहरुले प्रेस विराेधी सरकारी गतिविधिकाे विरोध जनाएका थिए।
शाखा अध्यक्ष ध्रुव दङ्गालले पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेका हस्तक्षेप र धरपकडविरुद्ध आन्दोलनको अन्तिम चरणका रूपमा सामुहिक गिरफ्तारीको कार्यक्रम गरिएको बताए।
उनले सञ्चारमाध्यमका कार्यालयअगाडि अप्रत्याशित रूपमा गाडी तेर्स्याउने, सञ्चारगृहभित्र प्रवेश गरी धरपकड गर्ने तथा पत्रकारलाई गिरफ्तार गर्ने जस्ता गतिविधि भइरहेको आरोप लगाए।
सञ्चारगृहमाथि सरकारले आर्थिक नाकाबन्दी लगाएको भन्दै उनले यस्ता गतिविधिविरुद्ध महासंघले महिनौँदेखि आन्दोलन गर्दै आएको बताए।
